भूकम्पका कारण बाजुरामा एक जनाको ज्यान गयो

बाजुरा ।
भूकम्पका कारण बाजुरामा एक जनाको ज्यान गएको छ । आज दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।
गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।