पाल्पामा निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

पाल्पा ।
पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार प्रशिक्षण दिइएको छ ।शुक्रबार क्षेत्र १ मा र शनिबार क्षेत्र २ मा खटिने अधिकृतलाई तालिम दिइएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई तालिम दिएको हो ।

प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र रहेको पाल्पामा १ सय १८ मतदान केन्द्रका २ सय ४६ मतदानस्थलमा खटिने अधिकृतलाई मत खसाल्नेदेखि हुलदंगा भएमा के गर्नेसम्मको प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।सोही अवसरमा नमुना मतदान गरेर बुथ निर्माणका विषयमा जानकारी गराइएको उनले बताए ।

निर्वाचन कार्यालयले ४ सय ९६ कर्मचारीलाई सुरक्षित वातावरणमा मतदान प्रक्रिया सम्पन्न गर्ने गरी तालिम दिएको अर्यालले जानकारी दिए । प्रशिक्षणमा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मतदान गर्ने तरिका, मतपत्र लिने, स्वस्तिक छाप लगाउन्, पट्याउने, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका लगायतका विषयमा सिकाइएको थियो ।

निर्वाचनमा २ हजार ९ सय ५५ बढी कर्मचारी खटिनेछन् । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।