सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य,मूल्य बढेपछि किसानलाई केही राहत

काठमाण्डौ
सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।

यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ । यो मूल्य पोहोरको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो ।

यस्तै मध्यम धानको मूल्य पोहोरको तुलनामा दुई सय २६ रुपैयाँले धेरै अर्थात् प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको प्रवक्ता सन्जेलले बताउनुभयो ।

धानको मूल्य बढेपछि किसानले केही राहत महसुस गरेका छन् । सरकारले कृषि उपजको बिक्रीको सुनिश्चितताका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

तर किसानले भने समर्थन मूल्य तोकिए पनि सरकारी कम्पनीले कोटा पूरा भइसकेको भन्दै धान खरिद नगर्ने गरेको गुनासो गर्ने गरेका छन् ।
न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।