निर्वाचनका लागि आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने

काठमाडौं ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।

निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकायबाहेक निजामतीतर्फका दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन हुने भएका हुन्।

यो जनशक्ति निर्देशिकाले स्वीकृति गरेको हो। यसमा केही सङ्ख्या तलमाथि हुन सक्ने भन्दै उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन सात किसिमबाट हुन्छ। यो चार चरणमा गरिएको छ।”

जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन्। त्यसका लागि काजका कर्मचारी पनि खटिने छन्।

दोस्रोमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने कर्मचारी हुन्छन्। उहाँहरू तालिम लिएका जनशक्ति हुन्। निर्वाचन कार्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत आजसम्मका कार्यक्रम सञ्चालन भइरहेको छ।

निर्वाचन हुन १२ दिन मात्रै बाँकी रहेकाले अबको जनशक्ति व्यवस्थापन मतदान केन्द्रसम्म हुन्छ। ती मतदान केन्द्रसम्म जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धमा जनशक्ति निर्देशिकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिले निजामती, सङ्घीय, प्रदेश वा स्थानीय तहका कर्मचारीलाई प्रयोग गर्न सक्नेछ। उहाँका अनुसार सबै जिल्लामा विवरण पठाइ सकिएको छ।