१३ वर्षपछि टी-२० विश्वकपको फाइनलमा पाकिस्तान

पाकिस्तान आइसिसी पुरूष टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार आज भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको लक्ष्य मात्र ३ विकेट गुमाएर पाकिस्तानले ५ बल बाँकी हुँदा पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।

उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले ३५ बलमा १ छक्का र ३ चौका प्रहार गरे।

यस्तै कप्तान केन विलियम्सनले ४६ रन जोडे। ४२ बल खेलेका उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। पाकिस्तानलाई १३ वर्षपछि पुनः टी २० विश्वकपको उपाधि जित्ने मौका आएको छ।
अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै लय दोहोर्‍याएर पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ।

उक्त विश्वकपमा निकै खराब सुरुवात गरेको पाकिस्तानलाई भाग्यले साथ दिएपछि अन्ततः उपाधि नै चुम्न सफल भएको थियो। यसपालि पनि पाकिस्तानले त्यहीँ इतिहास दोहोर्‍याउने मौका पाएको छ।

जारी विश्वकपको सबैभन्दा भाग्यमानी टोली पाकिस्तान सुरूआती दुई खेलमा पराजित भएपछि लगभग सेमिफाइनल दौडबाट बाहिरिएको थियो।

पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको तिब्र आलोचनासमेत भएको थियो। यसरी सुपर १२ बाट आउट हुनै लागेको पाकिस्तानले अविश्वसनीय पुनरागमन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।
सेमिफाइनलमा न्यूजिल्याण्डमाथि सानदार जित निकाल्दै पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।

पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप ट्रफी उचालेको थियो। त्यसपछि पाकिस्तान लगातार पाँचौ पटक फाइनलमा पुग्न सकेको थिएन।