बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

नेपालगञ्ज ।
शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै देउसीभैलोको समय निर्धारण गरेको छ ।
बाँकेमा राति १० बजेसम्म मात्र देउँसी भैलो खेल्ने समय निर्धारण गरिएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि मात्र पेस्तोलबाट हवाई फायर गर्दै केही युवाले बजारमा आतंक सिर्जना गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन र चाडपर्व सँगसंगै परेकाले प्रहरीले शान्ति सुरक्षालाई विशेष महत्व दिएको बताउनुभयो ।

राति १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिनुका साथै पटाका पडकाउन समेत रोक लगाइएको उहाँले बताउनुभयो । जुवातासमा पनि कडा निगरानी बढाइएको उहाँको भनाइ छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।